
काठमाडौं । काठमाडौं, मोरङ, पर्सा, नुवाकोट र रूपन्देहीमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभार नजिक बा.८ च ७१५० नम्बरको गाडीले बा.५९ प २११० नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने ४४ वर्षीय हरिष महर्जन रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



मोरङको बुढिगंगा गाउँपालिका–३ शान्ति चोकमा प्र.१–०२–००२ च ४६९८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका–१ बस्ने ७० वर्षीय पदम बहादुर श्रेष्ठ रहेका छन्। उनको मंगलबार साँझ मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो। भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको वीरगन्ज महानगरपालिका–२५ अलौ स्थित सडकमा प्र.२–०३–०१२प.५६०९ नम्बरको मोटरसाइकललाई बा.२ झ ४०१० नम्बरको एम्बुलेन्सले मंगलबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सखुवाप्रसौनी गाउँपालिका–४ बस्ने ७० वर्षीय फजिल देवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाटमा गल्छीतर्फ जाँदै गरेको बा.३ ख १६४ नम्बरको आईचर गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–७ महादेवफाट बस्ने ५० वर्षीय वीरेन्द्र कुवँर रहेका छन्। उनको मंगलबार राति मृत्यु भएको हो।
सडक छेउमा बा.२० च ९४४२ नम्बरको कार रोकी चालक कुवँर बाहिर निस्किएको अवस्थामा गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट घाइते भएका कारमा सवार एक जनालाई उपचारको लागि बिएण्डबी अस्पताल ललितपुर लगिएको छ।
रूपन्देहीको सियारी गाउँपालिका–७ कनरीमा लु.६८ प ९८४६ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–३ बोरहवा बस्ने ४५ वर्षीय दिप सिंह थारु रहेका छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ।