
काठमाडौं । नेपाल वायु सेवा निगमको व्यवस्थापनले उडान चालक दलका सदस्यहरुमाथि विभेदपूर्ण व्यवहार गरेको र ३५ घण्टासम्म विमानभित्रै बस्न बाध्य पारेको भन्दै कर्मचारीले सामूहिक ‘सिक रिपोर्ट’ दिएका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको लागि आज अफ्रिकाको माली चार्टर्ड उडान भर्न लागेको नेपाल वायु सेवा निगमले उडान कर्मचारी (ककपिट क्रु)लाई अघिल्लो दिन दोहामा आराम गर्न पठाइसकिएको छ । तर उडान कर्मचारीलाई भने ३५ घण्टासम्म विमानभित्रै बस्नुपर्ने र आराम गर्नका लागि ककपिट क्रु सरहको सुविधा नदिइएपछि कर्मचारीले सामूहिक बिरामी रिपोर्ट गरेका हुन् ।
विभेदपूर्ण व्यवहारको विरोध गरेका कर्मचारीलाई अप्रेसन निर्देशक आरके शेरचनले जागिर खाइदिने चेतावनी दिएका छन् । उनले ‘सिक रिपोर्ट’ गर्नेलाई अवकाश दिने भन्दै जुनु रिसाल र सन्तमाया तामाङमार्फत खबर गरेका छन् ।
कर्मचारीको जायज गुनासो कार्यकारी अध्यक्ष युवराज अधिकारीले समेत उपेक्षा गरेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले लामो दूरी उडानका क्रममा विश्रामको अधिकार नागरिक उड्डयन प्राधिकरणले समेत सुरक्षित नगरिदिएकोमा समेत गुनासो गरेका छन् । उडान अनुमति दिने बेलामै ककपिट क्रुलाई दोहाको होटलमा आरामको सुविधा र क्याबिन क्रुलाई भने विमानमित्र खुट्टा पसार्न समेत नमिल्ने गरी बस्ने विभेदपूर्ण अनुमति दिइएको छ ।
यसैबीच नेपाल वायुसेवा क्याबिन क्रु संघले विज्ञप्ति जारी गर्दै आज हुन लागेको निगमको चार्टर्ड उडान आरए २४५१ मा उडान सुरक्षालाई ध्यानमा नराखिएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै निर्णय नआएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ- एउटै जहाज, एउटै उडानमा ककपिट क्रुलाई मात्र दोहामा विश्रामको लागि राखिएको र क्याविन क्रुलाई लगातार ३५ घण्टा विश्राम गर्ने सुविधा नभएको ए ३२० जहाजमा उडाउँदा मानसिक र शारीरिक रुपमा हामी क्याबिन क्रुहरु असक्षम भएको जानकारी गराउँछौं ।
ककपिट क्रु र क्याबिन क्रुबीच श्रम विभेद भएको हुनाले सक्पूर्ण क्याबिन क्रुहरुले अर्को निर्णय नहुँदासम्म सो उडयान नगर्ने जानकारीसमेत व्यवस्थापनलाई गराएका छन् । निगमको चार्टर्ड जहाजले शान्ति सेना लिएर जाँदैछ ।