एमालेको घोषणापत्र : ५ वर्षमा गर्नसक्ने विषयमात्र समेट्ने

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र  प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनावी घोषणापत्र मस्यौदा समितिको बैठकले स्पष्ट र छोटो घोषणापत्र बनाउन उपयुक्त हुने निश्कर्ष निकाल्दै सोही अनुसार मस्यौदा तयार पार्ने काममा मस्यौदा कार्यदलका नेताहरु जुटेका छन् ।  एमालेले घोषणापत्र निर्माण गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ सदस्यीय ‘चुनावी घोषणापत्र मस्यौदा समिति’ गठन गरेको थियो । जसमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

घोषणा पत्र मस्यौदा समितिका सदस्यहरुबीच शुक्रबार भएको छलफलमा घोषणापत्रमा समेट्ने विषयबारे विमर्श   भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्  ।  मस्यौदा समितिका सदस्य समेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीले निर्माण गर्ने शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखिने बताइन् ।