
दमक / यही जेठ १९ गते नारायणहिटी दरबारमा दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारहरूको सम्झनामा हिमानी ट्रस्टले दीप प्रज्वलन गर्ने भएको छ । दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिरमा उक्त दिपप्रज्वलनको कार्यक्रम राखिएको हो ।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चलेर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो भने अहिलेसम्म पनि उक्त हत्याकाण्डको विश्वसनीय छानबिन हुन सकेको छैन ।
दरबार हत्याकाण्ड पश्चात् पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह भने नारायणहिटीभित्रै बस्दै आउनु भएकाे छ । वयोवृद्ध उमेरका कारण उहाँलाई नारायणहिटी छोड्न बाध्य नपारेर यहीँभित्रको महेन्द्र मन्जिलमा बस्ने व्यवस्था मिलाइएको थियो ।
अन्तिम पटक गत जेठ १० गते पूर्वराजाले पत्नी कोमल, आफ्नी छोरी प्रेरणा र नाति हृदयन्द्रलाई लिएर नारायणहिटी दरबार जानुभएकाे थियाे भने त्यहाँ उहाँले आमालाई भेटेर नारायण मन्दिरमा पूजाआजा समेत गर्नुभएकाे थियाे । गणतन्त्र आएपश्चात् पूर्वराजपरिवारले तामझामसहित पहिलो पटक यसरी नारायण मन्दिरमा पूजाआजा गर्नुभएकाे हाे ।
नारायणहिटी दरबार संग्रहालय प्रशासनले ढोकामा ताल्चा झुण्ड्याइदिएको हो । त्यसैले हिमानी ट्रस्टका पदाधिकारीले बाहिरैको बाटो प्रयोग गर्नुपर्ने भएको छ ।
हिमानी ट्रस्टले जारी गरेको सूचनामा भनिएको छ, ‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवं स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाह लगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’श्री चतुर्व्युह नारायण धाम परिसर बेलुका ६ः३० बजे।