
एजेन्सी । इजरायलले शुक्रबार बिहान इरानका आणविक प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेको छ ।
इरानी राज्य मिडियाका अनुसार, आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको छ । आक्रमणपछि राजधानी तेहरानलगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उक्त आक्रमण ‘इरानको आणविक कार्यक्रमको केन्द्रमै प्रहार’ भएको दाबी गरेका छन् ।
इरान रिभोल्यूसनरी गार्डका चीफ हुसैन सलामीको इजरायली हमलामा मृत्यु भएपछि कुद्स फोर्सका पूर्व प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर–इन–चीफ नियुक्त गरिएको छ ।
योसंगै जनरल वाहिदीले हमलाको जवाफ दिन आदेश दिएका छन् । इरानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा अहिलेसम्म पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले हालै २० वर्षपछि पहिलोपटक इरानलाई आणविक अप्रसार सन्धिको उल्लंघन गरेको भन्दै चेतावनी दिएको थियो । यद्यपि, इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र रहेको जिकिर गर्दै आएको छ ।
बीबीसीका अनुसार, तेहरानको विमानस्थल बन्द गरिएको छ भने इजरायलले आपतकाल घोषणा गरेको छ । अमेरिकाले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।