बाग्लुङ– २ (ख) का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर्तीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिई हेलिकाेप्टरमार्फत बाग्लुङ सदरमुकाम पुर्‍याएकाे छ । उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिने उद्देश्यले प्रहरीले ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिएको नेविसंघका नेता युवराज पाण्डेले बताए ।

बुर्तिवाङस्थित आफ्नै घरमा बसिरहेका घर्तीलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरीले मध्यान्ह १२ बजे नियन्त्रणमा लिएको र ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको निवासमा ल्याण्ड गरिएको हेलिकाेप्टरमा चढाएर बाग्लुङ पुर्‍याएको हो ।

घर्तीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र घर्तीका समर्थकबीच आधा घण्टा विवाद भएको थियो । सोही कारण १ बजेभित्र प्रदेशसभा निर्वाचन कार्यालयमा पुर्‍याएर उम्मेदवारी फिर्ता गराउने प्रहरीको प्रयास असफल भएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार, आइतबार दिउँसो १ बजेभित्र मनोनयन फिर्ता लिने समय तोकिएको थियो ।

घर्तीसँगै रहेका उनका समर्थक तुल्सी अर्याललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनी २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका थिए ।

उक्त क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खीमविक्रम शाहीलाई समर्थन गरेको छ । तर, सोही निर्वाचन क्षेत्रमा नेकपाकै घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी तत्कालीन नेकपा माओवादीका जिल्ला सल्लाहकार पनि थिए ।शिलापत्रबाट