महाभूकम्प २०७२ बाट निजी आवासमा क्षतिपछि पुनर्निर्माण भएका ५ लाख बढी भूकम्पपीडितले सरकारबाट प्रदान गरिने अनुदानको तेस्रो किस्ता लिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पप्रभावित ५ लाख १९ हजार ३७१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । भूकम्पपीडितलाई सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

घर पुनर्निर्माण गरी छाना छाउने तहसम्म पु¥याएपछि लाभग्राहीले तेस्रो किस्ता प्राप्त गर्छन् । यो अनुदान सम्झौता गरेका लाभग्राहीको ६६.२३ प्रतिशत हो ।

पुनर्निर्माणको अनुसार ४ लाख ७२ हजार ३५१ भन्दा बढी लाभग्राहीहरु भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरी नयाँ घरमा सरिसकेका छन् । त्यसैगरी, पुनर्निर्माण प्रक्रियामा प्रवेश गरेका अन्य १ लाख ९४ हजार २१९ लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गरिरहेका छन् ।

हालसम्म निजी आवास अनुदान प्राप्त गर्न योग्य ८ लाख १६ हजार ६८६ लाभग्राहीमध्ये करिब ९४ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।

अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ९८.९२ ले पहिलो किस्ता लिएका छन् भने ७८.९९ ले दोस्रो किस्ता लिएका छन् । प्राधिकरणका अनुसार ७ लाख ७६ हजार ९२१ लाभग्राहीले अनुदान सम्झौता गरेका थिए । ७ लाख ६८ हजार ५ सय ७३ लाभग्राहीले पहिलो किस्ता र ६ लाख १७ हजार ०६५ लाभग्राहीले दोस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ ।

राष्टिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे पछिल्लो समय निजी आवास पुनर्निर्माण सन्तोषजनक ढंगले अघि बढिरहेको बताए ।

अब वर्षा तथा चाड पर्वहरू सम्पन्न भई घर निर्माण गर्ने मौसम सुरु भएकाले निजी आवास पुनर्निर्माणको संख्यामा तीव्रता आउने उनको विश्वास छ ।राजधानी दैनिकबाट ।