उद्योगपति गोल्छाको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त


काठमाडौं । पूर्व सांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको हिजो मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको छ ।

उहाँ मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् हुनुहुन्थ्यो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व हुनुहन्थ्यो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले उहाँको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताउनु भएको छ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ ।

“पूर्व सांसद एवं प्रसिद्ध उद्योगपति दिवाकरण गोल्छाको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।” भन्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ती जारी गर्नु भएको छ ।