भीम रावलको कटाक्ष : एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्धार हुन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा भीम रावलले एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्धार भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं एमाले सांसद रावलले व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै भएको भन्दै एमसीसीमा समर्थन गर्ने वा पास गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने दावी गरेका हुन् ।

बिज्ञापन

साथै नेता रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने समेत धारणा व्यक्त गरेका छन् ।

एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने समेत डा रावलको दाबी छ । उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताएका छन् ।

राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुने रावलले बताएका छन् ।

आफ्नै पार्टीका सांसदहरुले नाराबाजीसहित वेल घेरीरहँदा छलफलमा सहभागि भएका सांसद रावलले एमसीसी सम्झौता निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्न समेत आग्रह गरेका थिए ।

उनले एमसीसीको विरोधमा उत्रिएका नागरिकमाथि दमन भएको भन्दै सरकारको आलोचना समेत गरेका छन् । ‘सत्ता र कुर्सीका लागि राष्ट्रिय हित विपरीत काम गर्नु सर्वथा गलत भएको उनको भनाई छ ।