काठमाडौं : अमेरिका र इरानबीच युद्ध चर्किरहेको बेला नेपालस्थित स्थित अमेरिकी राजदुतावासलाई नेपाल सरकारले उच्च सुरक्षा प्रदान गरिरहेको छ । अमेरिका र ईरानबीच युद्ध चलिरहँदा विदेशस्थित अमेरिकी नियोगहरुमा कुनैपनि बेला आक्रमण हुन सक्ने भन्दै नेपाल सरकारले उच्च सतर्कता सहित अमेरिकी राजदुतावासलाई विशेष सुरक्षा प्रदान गरेको हो ।
अमेरिकी आक्रमणमा गत शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । उता तनाव बढेसँगै नेपालमा पनि हुन सक्ने संभावित घटनालाई मध्येनजर गर्दै यसरी सुरक्षा प्रदान गरेको हो ।
आफ्ना सैनिक कमाण्डरलाई हत्या गरेको बदलामा इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको थियो । केन्यास्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएपछि अमेरिकाले आफ्ना दूतावासहरूमा समेत सतर्कता बढाएको छ । यसरी सतर्कता बढाएसँगै नेपालले पनि कडा सुरक्षा प्रदान गरेको हो ।
कुनै पनि देशमा अमेरिकी नियोगमा आक्रमण हुन सक्ने आंकलनका आधारमा पूर्वसतर्कता अपनाउँदै अमेरिकी दूतावासको सुरक्षामा सशस्त्र प्रहरीबाट इन्स्पेक्टरको कमान्डमा पहिलेदेखि नै प्रहरी टोली खटिँदै आएको छ । नेपाल प्रहरीले पनि दूतावास आसपास गस्ती बढाएको छ ।
हालसम्म नेपालमा कुनै पनि अन्तर्रा्ष्ट्रिय आतंकवादी समूहको गतिविधि नदेखिए पनि भारतसँगको खुला सिमानाका कारण यस्तो जोखिम आउन सक्ने भन्दै सतर्कता अपनाईएको श्रातेबो दाबी छ ।