नेपाल विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा

सन् २०२१ मा भारतमा हुन लागेको आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि ग्लोबल छनोटमा नेपालले सोझैं खेल्न पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार निकालेको रोडम्याप अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।

 

आईसीसीको जनवरी १ मा सार्वजनिक भएको टी–ट्वान्टी वरियताका आधारमा नेपाल सिधै ग्लोबल छनोटका लागि छनोट भएको हो । यसैवर्ष अस्ट्रेलियामा टी–२० विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ ।

 

ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ । टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो । टी–२० क्रिकेटको विश्व बरियतामा हाल नेपाल १२औँ स्थानमा छ । यस्तै जिम्बावे ११औँ, युएई १५औँ तथा हङकङ २०औँ स्थानमा छ ।

 

उक्त ग्लोबल छनोटमा सहभागी १६ देशमध्ये शीर्ष स्थानका रहने चार टोलीले सन् २०२१ को टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भए पछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन् ।