युद्ध क्षेत्रमा फसेका मानिसको उद्धार गर्न रुस र युक्रेन सहमत

एजेन्सी । रुस र युक्रेन युद्ध क्षेत्रमा फसेका मानिसको उद्धार गर्न सहमत भएका छन् । रुस र युक्रेन युद्ध क्षेत्रमा फसेका सर्वसाधारणलाई सहायता उपलब्ध गराउन तथा उद्धार गर्न सहमत भएका हुन् ।

दुई देशका प्रतिनिधिमण्डलबीच बिहीबार भएको दोस्रो चरणको वार्तामा सेनाको घेराभित्र परेका युक्रेनी सहरहरूमा मानवीय कोरिडोरको आवश्यकता रहेकोमा सहमति भएको हो । रुसी वार्ताकार भ्लादिमिर मेदिन्स्की बिहीबारको वार्तामा ‘ठोस प्रगति’ भएको बताए ।

बिज्ञापन

युक्रेनी वार्ताकार मिखाइलो पोदोल्याकले सर्वसाधारणको यथासीघ्र उद्धारमा सहजीकरण गर्न ‘सञ्चार र सहकार्य लाइन’ तय गर्न सहमत भएको बताएका छन् ।

युक्रेनी पक्षले मानवीय कोरिडोरसहित युद्धविराम र अल्पकालीन सम्झौताको माग राखेको थियो । रुस र युक्रेनबीच ९ दिनदेखि युद्ध जारी छ । दुवै पक्षका गरी हजारौँ सैनिक र कयौँ सर्वसाधारणको ज्यान गएको छ । दस लाख बढी मानिसहरू विस्थापित भएका छन् ।