प्रदेश सचिवालयका उपसचिव चढेको जीप दुर्घटना

राजविराज : विराटनगरबाट काठमाडौं आउँदै गरेको प्रदेश १ सचिवालयको जीप आज (बुधबार) बिहान सप्तरीको शम्भुनाथमा दुर्घटना भएको छ ।

 

आज बिहान प्रदेश सचिवालयका उपसचिव (प्रवक्ता) दिपक घिमिरेसहित उनका श्रीमती, छोरी र छोरा चढेको प्रदेश १–०२–००१झ ०७१६ नम्बरको जीप ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

 

तीव्र गतिमा गुडिरहेको प्रदेश सचिवालयको जीप शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि चेक प्वाइन्ट नजिकै ना.६ ख २१७२ नम्बरको ट्रकको पछाडि ठोक्किएको सप्तरी प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा उपसचिव दिपक र उनका ११ वर्षीय छोरा दिर्घायु घिमिरे घाइते भएको छन् भने उनका श्रीमती र छोरी सकुशल रहेको प्रहरीले जनाएको छ ।

 

घाइते दुवै जनाको शम्भुनाथस्थित क्लिनिकमै प्राथमिक उपचारपछि विराटनगर नै फर्किएका छन् ।