सरकार ! यो देशमा राम्रो गर्नेहरूले सधैं रुनुपर्ने हो ?


काठमाडौँ — टोलभरि एकैपटक ठूलो आवाज आउँथ्यो, अनि ‘स्विच अन’ गर्न हतारिनुपर्ने अवस्था थियो, केही अघिसम्म  । १८ घन्टे लोडसेडिङलाई इतिहास बनाएर घाटाको प्राधिकरणलाई छोटो समयमा नाफामा रूपान्तरण गर्न सक्षम कुलमान घिसिङ प्राधिकरण कार्यालयमा नै पत्रकार सम्मेलन गरी रुनु परेको अवस्था देख्दा, सुन्दा सर्वसाधारणको रगत उम्लिँदो रहेछ  ।

छात्ती पोल्दो रहेछ । दिल खोलेर गाली गर्न मनलाग्दो रहेछ । अनि सरकारलाई प्रश्न गर्न मन लाग्दो रहेछ– सरकार ! देश बिचौलियाहरूले चलाइरहेको हो ? सरकार ! यो देशमा राम्रो गर्नेहरूले सधैं रुनुपर्ने हो ?
कुलमानसँंग तिनै बिचौलिया रिसाएका छन्, जो हिजो लोडसेडिङ गराएर लाखौंको संख्यामा इन्भर्टर, जेनेरेटर बिक्री गर्थे, तिनै बिचौलिया रिसाएका छन्, जो विद्युत आयोजनाको लागत र समयावधि दोब्बर/तेब्बर बनाउँथे, तिनै बिचौलिया रिसाएका छन्, जो विद्युत आयोजनाहरू झोलामा बोकेर लिलाम बढाबढमा बेच्ने गर्थे ।

सरकार नारामा समृद्धिको सपना देखाएर मात्र हुन्न । कुलमान प्रवृत्ति र पात्रहरू तयार पनि पार्नुपर्छ । एउटा कुलमानले आज रुनुपरेको छ । हामी माग राख्छौं, सयजना कुलमान तयार हुने वातावरण बनाउनुपर्‍यो, विकास र समृद्धिको नारा साकार पार्न सहयोग पुग्छ । सुस्ताएको मेलम्चीजस्ता आयोजना सम्पन्न गरी समयमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने वातावरण बनाउनुपर्‍यो । सरकार कानमा तेल हालेर चुप बस्दै जाने हो भने कुलमानहरूले सधैं आंँसु खसालिरहनुपर्ने हुन्छ ।

गणेश ढकाल, सुलिकोट–४, गोरखा