यस वर्ष पनि विद्यालय भर्ना अभियान सुरु हुँदै, ९१ हजार बालबालिका विद्यालयबाहिर


काठमाडौँ । सरकारले गतवर्षजस्तै यस वर्ष पनि बालबालिकालाई विद्यालय भर्ना अभियान सुरु गर्दै छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले आजबाट अभियानको शुभारम्भ गर्न लागेको हो ।

आजबाट मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरेर पढ्ने उमेर पुगेका सबै बालबालिकालाई स्कुल भर्ना गर्न आह्वान गर्दै छ ।

फाइल फाेटाे

गतसाल बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना अभियान सुरु गरेका थिए । तर सो अभियानको समीक्षा गर्दा गत साल खासै प्रभावकारी देखएिन । अझै पनि उमेर पुगेका करिव ९१ हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ ।

स्थानीय, प्रदेश र संघीय सरकार गरी तीनै तहमा अभियान चलाएर विद्यालयबाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराइने जनाइएको छ । गत वर्ष छुटेका र यस वर्ष थपिएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अभियान चलाइने भएको हो ।

गत वर्ष ६० हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेकोमा यस वर्ष झनै बढेर यो संख्या ९१ हजार पुगेको छ ।