केही भारतीय कम्पनीले कामै नगरी पनि पैसा कमाउन सकिने सपना बाँड्दै यसरी ठग्दै छन् नेपाली

धेरै पैसा कमाइ हुने आशामा नेपाली युवाहरू नेटवर्किङ कामका लागि पूर्वबाट भारतका विभिन्न ठाउँहरूमा जाने क्रम बढेको छ । यसरी पूर्वी नाका काँकडभिट्टाबाट नेटवर्किङ व्यवसाय र ओरियन्स कम्पनीमा गएका नेपाली युवाहरू भारतमा ठगिइरहेको खुलेको छ ।

 

ओरियन्स नामक कम्पनीले नेपाली युवायुवतीलाई आफ्नो औषधिजन्य उत्पादनलाई खरिद गर्न र बिक्रीवितरण गर्न लगाउने साथै बिक्रीको मात्राका आधारमा उसको पद निर्धारण गरी कालान्तरमा कामै नगरी पनि पैसा कमाउन सकिने सपना बाँड्दै नेपाली युवाहरूलाई फसाइरहेको छ ।

 

नेपालमा प्रतिबन्धित तथा ल्याव टेस्ट नगरिएको औषधि उनीहरूलाई भारतमा खरिद गर्न लगाई नेपालमा बेच्न पठाइन्छ । यसरी गैरकानुनी औषधि तथा लुकाएर ल्याएको अवस्थामा ओरियन्स तथा अन्य कम्पनीहरूको सशस्त्र प्रहरी बल नम्बर ८ राजस्व तथा भन्सार सुरक्षा गुल्म काँरकभिट्टाले हालसम्म २० लाखमूल्यबराबरको औषधि बरामद नै गरेको छ ।

 

त्यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टा तथा मेची भन्सार कार्यालयको पनि आँकडा यस्तै रहेको छ । आफूहरूले नेपालमा काम गर्न खोज्दा नसकेको र साथीहरूको सल्लाहमा धेरै पैसा कमाउने आशामा भारतमा नेटवर्किङका लागि गएको अधिकांश पीडितहरूको भनाइ छ ।

 

धेरै पैसा कमाउन सकिन्छ भन्ने सोचेका उनीहरू रित्तो हात घर फर्किन नसक्ने भएपछि भारतमै अब के गर्ने भन्ने अवस्थामा छन् । यही समस्यामा कारण धेरै जना डिप्रेसनको बिरामी भइसकेको पाइएको र उनीहरूलाई परिवारको जिम्मा लगाएको इलाका प्रहरीले कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

 

‘नेटवर्किङमा पैसा फसेपछि आफ्नो पैसा निकाल्न अरूलाई फसाउने, ल्याब टेस्ट नगरिएका औषधि अरूलाई खुवाउने गरेका कारण बिरामी झन् बिरामी हुने गरेको पनि पाइएको छ,’ उनले भने, ‘कतिपयचाहिँ साथीहरूको लहैलहैमा लागेर यस्तो बिजनेसमा फसेको पाइएको छ ।’

 

सजिलै र धेरै पैसा कमाउने लोभमा नेपालका युवाहरू भारतमा ठगिने क्रम ह्वात्तै बढेको छ । यसरी ओरियन्स, ओमेगा, मोग्नेजा, आरसीएम, सेमी डाइरेक्टलगायतका कम्पनीहरूले नेपालका ग्रामीण तथा विभिन्न भेगमा समेत गैरकानुनी रूपमा आफ्नो नेटवर्किङ धन्दा चलाइरहेका छन् । यही धन्दाका कारण धेरै नेपालीहरू ठगीमा परिरहेका छन् ।

 

खासगरी १६ देखि ३० वर्षका युवाहरू नेटवर्किङका लागि भारतमा जाने र फस्ने क्रम बढेको पाइएको छ । काँकडभिट्टा प्रहरीले दैनिक १० भन्दा बढी युवाहरूलाई परामर्श गरी घर फर्काउने गरेको छ । यस्तै, नेटवर्किङका लागि काँकडभिट्टा, धुलाबारीलगायत स्थानका होटलहरूमा महिनौँ भाडामा बसेर उनीहरूको ठगी धन्दा चलाइरहेको स्रोतले जनाएको छ ।