जबर्जस्ती करणी मुद्दामा महराले पाए सफाइ : सांसदको सेवा सुविधा पाउने

पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी आरोपमा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट महराले सफाइ पाएका हुन् ।

 

अदालतको यो फैसलासँगै जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा छुट्ने भएका छन् ।

 

महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दीनमणि पोखरेलले बहस गरेका थिए ।

 

१२ असोज आइतबार राति महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यसको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूमाथि बलात्कार र हातपात गरेको आरोप लगाएकी थिइन् ।

 

भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो ।

 

घटना भएको पर्सिपल्ट १४ असोजमा प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो ।

 

त्यसपछि १९ असोजमा महरालाई प्रहरीले पक्राउ गरेको छ । त्यसको करिब एक महिना अर्थात् १८ कात्तिकमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 

साथै, फौजदारी मुद्दा लागेसँगै निलम्बनमा परेको उनकाे सांसद पदको सेवासुविधा पनि फुकुवा हुने भएको छ । फौजदारी अभियोग लागेपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सेवासुविधा निलम्बन हुन्छ । तर, उनले सफाइ पाएकाले सेवासुविधा पाउने भएका हुन् ।

 

भ्रष्टाचारको अभियोगमा भने पद नै निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।

 

करिब ८ महिनाअघिसम्म सभामुखको भूमिकामा प्रतिनिधिसभामा प्रवेश गर्ने महरा अब सांसदका रूपमा संसदमा पुनः प्रवेश गर्नेछन् ।