पूर्वसचिव पत्नी हत्या प्रकरण : नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गर्दै

काठमाडौं : डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गर्दैछ ।

 

बिज्ञापन

गम्भीर प्रश्न छ– कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ । सबैभन्दा गम्भीर अनुसन्धानको पाटो त यो छ कि, सिसिटिभी फुटेजमा विजयले मुनामाथि टाउकोमा निरन्तर हानेको देखिन्छ तर एउटा जिउँदो मान्छेलाई कसैले नीलो प्लाष्टिकको पिर्काले मात्रै हान्दा ज्यान जान्छ कि जाँदैन ?

 

प्लाष्टिकको पिर्काकै भरमा त मान्छे बेहोस पनि हुँदैन, रक्तमुछेल हुनु टाढाको कुरा । अनि, २३ वर्षको युवकले ४८ वर्षकी महिलालाई पछाडिबाट डोरीले कसेर लडाउन र एक्लै घाँटी थिचेर मार्न कत्तिको सम्भव होला ? त्यसरी नै नियत खराब गर्दा मारिन लागेको मान्छेले चूपचाप घाँटी थापेको पक्कै थिएन । होहल्ला, रोदन, चित्कार वा हारगुहार गरिएको हुनुपर्छ । त्यत्रो हल्ला हुँदा छिमेकी कहाँ थिए ? यदि त्यस्तो हल्ला भएन भने निर्मला पन्त प्रकरणमा झैं भोकल कर्ड (घाँटीबाट आउने आवाज) अवरोध गरिएको हुनुपर्छ । तर, त्यो काम एक्लो मान्छेबाट, त्यसमा पनि त्यो विषयको तालिम वा ज्ञान नभएको व्यक्तिबाट हुन सक्दैन । प्रहरी अनुसन्धानको अर्को पाटो छ, घटना हुनुभन्दा एक महिनाभित्र पूर्वसचिव कार्की, मृतक मुना र कामदार विजयको मोबाइलमा भएका संवाद, एसएमएस आदान–प्रदानको विवरण, जुन आउने क्रममै छ ।

 

कार्कीले घरको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा हेर्ने गरी जडान गरेका थिए । घरमा पत्नी भए, नभएको ? को आयो, को गयो ? जस्ता सबै कुरा आफ्नै मोबाइलबाट हेर्थे । विजयको पछिल्ला दिनको मानसिक परिवर्तनप्रति कुनै आशंका थियो कि ! वा त्यस दिनको स्थिति के हो ? विजय पछिल्लो समय घर सरसफाइ गर्ने कामदारमा मात्र सीमित थिएनन् । उनी मुनाका व्यक्तिगत ड्राइभर पनि थिए ।

 

अपराध महाशाखाबाट अनुसन्धानरत एक प्रहरीले जनआस्थालाई भनेका छन्, ‘धारिलो हतियार वा बिष्फोटक पदार्थ (बन्दुक) को प्रयोगबाट गरिएको हत्या थियो भने एक्लो संलग्नता पत्यारिलो हुन्थ्यो तर मुनाको हत्या सहजै पत्यारिलो छैन जसरी दुनियाँ अझै पनि दरबार हत्याकाण्डमा बाबु, आमासहित काका, फूपू र भाइबहिनीलाई दीपेन्द्रले मारेको भन्नेमा अझै विश्वस्त छैन ।’ प्रहरीले कम्तिमा १३ औँ पुण्यतिथिका दिनसम्म घटनाका थप तथ्य बाहिर नल्याउने नीति बनाएको बुझिन्छ ।