युवतीलाई बेच्न भारत लैजाने गिरोहका २ जना पक्राउ

विभिन्न प्रलोभन देखाएर युवतीलाई भारतमा बेच्न लैजाने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

कञ्चनपुरको पुनर्बास घर भई धनगढी उपमहानगरपालिका– ८ मा डेरा गरी १२ कक्षामा अध्यनरत १९ वर्षीया एक युवतीलाई विभिन्न आश्वासन देखाउँदै भारतमा बेचबिखनका लागि लैजान खोज्ने दुई जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

युवतीको नाम गोप्य राखिएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका– १२ बस्ने ५० वर्षीय पर्शुराम चौधरी र सोही ठाउँकी २३ वर्षीया ऐश्वर्या चौधरी रहेका छन् ।

 

कैलाली जिल्ला अदालतबाट म्याद थप भई उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मुख्य नाइके धनगढी उपमहानगरपालिका–४ बस्ने ३५ वर्षीय सुमन सिजापती र उनीसँगै संलग्न घोडाघोडी नगरपालिका– १२ बस्ने २५ वर्षीया दुर्गा चौधरी फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू भारततर्फ फरार भएको प्रहरीको आशंका छ ।

 

बेचबिखनमा संलग्न गिरोहले भारत पलियास्थित एउटा बाबाको कुटीमा गई २० तोला सुनका गरगहना लगाई देवीको रूपधारण गरेमा बाबाले करोडौँ रूपैयाँ दिन्छन् भनी ललाई फकाई गरेर भारत लैजाने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले युवतीलाई भिडियोसमेत देखाई बेहोस बनाउने औषधि खुवाउन लाग्दा युवती त्यहाँबाट भागेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । उनीहरू लामो समयदेखि यस क्षेत्रमा यस्तो काममा संलग्न रहेको खुलेको छ ।

 

उनीहरूले अन्य युवतीलाई पनि यसैगरी भारत लगेको हुन सक्ने प्रहरीले जनाएको छ । गत माघ १६ गतेको घटना भए पनि अनुसन्धान प्रभावित हुन सक्ने र सबै दोषी फरार हुन सक्ने भन्दै प्रहरीले घटना गोप्य राखेको थियो । उक्त गिरोहले सोही तरिकाले ललाई फकाई गरेको पाइएमा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।