
झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ ।
७ वटा वडा रहेको याे गाउँपालिकाले सबै वडाका विपन्न समुदायलाई हालसम्म ९० घर बनाएर हस्तान्तरण गरिसकेको पालिकाका अध्यक्ष जयनारायण यादवले बताए ।
विसं २०६८ को जनगणनाअनुसार ३६ हजार ६ सय १ जनसङ्ख्या रहेको गाउँपालिकामा हाल बढेर ५० हजारभन्दा बढी रहेको उनको भनाइ छ । तीमध्ये २० प्रतिशत मुस्लिम, २० प्रतिशत सन्थाल गरी विभिन्न जातजातिको मिश्रित बसोबास रहेको गाउँपालिकामा ६० प्रतिशत विपन्न समुदायको बसोबास रहेको उनको भनाइ छ ।
गाँससँगै बास पनि महत्त्वपूर्ण रहेको बताउँदै अध्यक्ष यादव भन्छन्, ‘सबै जनतालाई सुरक्षित बासको व्यवस्था गर्ने उद्देश्यले सहारा नेपालको ह्युमानिटी फर हेल्भेटाससँग मिलेर धमाधम कतै घर बनाइरहेका छौँ, कतै हस्तान्तरण गरिसक्यौँ ।’
वर्षौंदेखि कच्ची घरमा बस्दै आएका सन्थाल समुदायलाई नै लक्षित गरी वडा नं २ मा रहेको पालिकाको ३ विगाह जमिनमा संघीय सकारको तराई–मधेस कार्यक्रमअन्तर्गत ९५ लाख रुपैयाँमा भूकम्प प्रतिरोधी २० घर गत आर्थिक वर्ष २०७५/७६ मा बनाएर हस्तान्तरण गरिएको पालिकाका इञ्जिनियर अभिषेक दासले बताए ।
उनका अनुसार सोही आर्थिक वर्षको बजेटबाट ह्युमानिटी फर हेल्भेटासको प्रतिघर ७५ हजार र गाउँपालिकाको प्रतिघर ७५ हजार गरी १ लाख ५० हजारका दरले ४० वटा ३ कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
पालिकाले आर्थिक वर्ष विसं २०७४/७५ मा ३० घर बनाएर हस्तान्तरण गरेको उनको भनाइ छ । उनका अनुसार सबैभन्दा बढी वडा नं १ को लसुनगञ्जमा ३४ घर बनाएर हस्तान्तरण गरिएको छ । घर पाउनेमा अधिकांश सन्थाल समुदायका छन् ।
अध्यक्ष यादवले गाउँपालिकाको जग्गामा थप भूकम्प प्रतिरोधी घर निर्माण गर्ने तयारी भइरहेको बताउँदै भन, ‘२० घर बनाएर राखिसक्यौँ, थप घर बनाएर त्यहाँ सन्थाल समुदायलाई नै लक्षित गरी घरवास सञ्चालन गर्छौँ ।’
उनले सन्थाल समुदायको सांस्कृतिक र धार्मिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ‘सन्थाल सामुदायिक एरिया’ नामकरण गरेर उनीहरुलाई आर्थिक उन्नयनमा लाग्न अभिप्ररित गरिने बताए ।
सहारा नेपालसँग मिलेर चालू आर्थिक वर्षमा १०० घर निर्माण भइरहेको बताउँदै उनले ४१ वटा एक हप्ताभित्रमा हस्तान्तरण गरिने र बाँकी बन्दै गरेको जानकारी दिए ।
गाउँपालिकामा थप २३० घर निर्माणका लागि तयारी हुँदै गरेको उनको भनाइ छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि विपन्न समुदायलाई लक्षित गरेर घर, बिजुली र पानीलाई बढी प्राथमिकतामा राखेको अध्यक्ष यादवको भनाइ छ । कच्ची घरमा जोखिमपूर्ण बसोबास गर्दै आएका सन्थाल परिवार नयाँ पक्की घर पाएपछि दङ्ग छन् ।