दुग्धजन्य पदार्थमा हानिकारक रसायन मिसाउन अनुमति दिएको छैन : विभाग

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुग्धजन्य पदार्थ र शिशु आहारमा हानिकारक रसायन मिसाउन कसैलाई पनि अनुमति नदिएको प्रष्ट पारेको छ ।

 

बिज्ञापन

सरकारले नै दुग्धजन्य तथा अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मिसाउन अनुमति दिएको समाचार आएपछि विभागले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

सो समाचारका कारण उपभोक्ताहरुमा चिन्ता थपिएका बेला विभागले सो प्रष्टिकरण दिएको हो । विभागले कसैलाई पनि हानिकारक रसायन मिसाउन अनुमति नदिएको जनाएको छ ।

 

‘दुग्धजन्य पदार्थमा कुनै पनि अखाद्य पदार्थ मिसावट गर्न पाइँदैन,’ विभागले सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘एफएओ/डब्ललूएचओअन्तर्गत खाद्य पदार्थको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने संस्था ‘कोडेक्स एलिमेन्ट्रियस कमिसन’ अन्तर्गतको ज्वाइन्ट एफएओ/डब्लुएचओ एक्पर्ट कमिटि अन फुड एडिटिभ्स (जेईसीएफए) ले वैज्ञानिक अनुसन्धान तथा तथ्यको आधारमा तोकेको र नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबै प्रकारका खाद्य पदार्थको अनुगमन तथा परीक्षण गर्ने गरेको छ ।’

 

जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा विभाग सचेत र सजग रहेको भन्दै विभागले भ्रममा नपर्न अनुरोध गरेको छ । विभागले निर्धारित मापदण्डविपरीतका काम भएको पाइएमा खाद्य ऐन र नियमावली अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

 

‘खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ बमोजिम शिशु दुग्ध आहार लगायत अन्य दुग्धजन्य पदार्थमा अखाद्यय तथा हानिकारक वस्तुको मिसावट गरी उत्पादन, आयात तथा बिक्री वितरण गर्न निषेध गरिएको हुँदा यस प्रकारका समाचारहरुबाट भ्रममा नपर्नु हुन आम जनमानसमा विभाग हार्दिक अपिल गर्दछ । कसैले निर्धारित मापदण्ड विपरीत कार्य गरेमा खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम कारबाही हुने व्यहोरा सबैमा जानकारी गराइन्छ,’ विभागद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।