प्रदेश १ मा र्यापिड डाएग्नोस्टिक टेस्ट पनि सुरु : ९३ नमुना परीक्षण गर्दा सबै नेगेटिभ

मोरङ – प्रदेश १ मा कोरोना र्यापिड डाएग्नोस्टिक टेस्ट शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए/नभएको परीक्षण गर्ने विधि हो ।

 

स्वास्थ्यकर्मीले संकलन गरेको कुल ९३ नमुनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा ७ महिला र ८६ पुरुषको नमुना संकलन गरी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो ।

 

प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रित हुने बताउनु भएको थियो । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत संचालनमा आएको हो ।

 

संभावित कोरोना परीक्षणको लागि नमुना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत प्रदेश १ मा कोरोना नभएको देखिएको छ ।

 

कुल २ सय ११ नमुना परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिपोर्ट नेगेटिभ देखिएको छ । शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमुना पठाइएको छ । प्रदेश सरकारद्वारा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ ।

 

सरकारले विभिन्न स्थानमा सञ्चालन गरेका क्वरेण्टीनमा राखिएकाहरुको नमुना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वरेण्टीन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमुना संकलन गरिरहेका छन् । प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको छ ।

 

यता, शनिबारसम्म क्वरेण्टीनमा बस्नेको संख्या ५ सय ९२ पुगेको छ । शनिबार ३९ जना थपिएका हुन । आइसोलेसन बेडमा जम्मा १० जनालाई राखिएको छ । होम क्वरेण्टीनमा ३ हजार ४ सय १७ जना बसिरहेका छन् । आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर पठाइएको कोरोना सूचना डेस्कले जनाएको छ ।