
कञ्चनपुर : नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले आफनो निर्वाचन क्षेत्रमा एक सय क्विन्टल चामल सहयोग गरेकी छन । मन्त्री बिना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो व्यक्तिगत तर्फबाट एक सय क्विन्टल चामल सहयोग गरेकाे उनका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिका गरी ४ वटै स्थानीय तहमा २५ क्विन्टलका दरले सहयोग स्वरुप चामल प्रदान गरेका हुन ।
आफु स्वयं उपस्थित हुन नसके पनि खानेपानी मन्त्री बिना मगरको सचिवालयका प्रतिनिधि दीपक तिमिल्सेना, सुन्दर चौधरी र प्रकाश मोक्तान सहितको टिमले चारवटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको बताइएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनीकरणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लक डाउन) का कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि उनीहरुलाई राहत स्वरुप वितरण गर्न मन्त्री बिना मगरले व्यक्तिगत रुपमा सहयोग गरेकी हुन ।
मन्त्री बिना मगरले सबै नागरिकलाई सरकारले जारी गरेको बन्दाबन्दी (लक डाउन) को पूर्ण पालना गर्न आग्रह गरेकी छन । उनले यो समयमा आफु, आफ्नो परिवार, समाज र देशलाई कोरोना संक्रमणबाट बचाउनका लागि सबैले सचेत हुनुपर्नेमा जोडदिइन ।
उनले सबै नागरिकलाई अप्ठ्यारो परेको महशुस गरी थप राहतका लागि आफुले समन्वय गर्ने बताइन । स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारका साथै बिभिन्न दाता र दातृ संघसंस्थाहरुले पनि समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन ।