बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अवधि फेरि बढ्ने

काठमाडौं : मुलुकमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले लागू गरको लकडाउनको तीन हप्ता पूरा भयो । तेस्रो चोटि थपिएको लकडाउनको म्याद भोलि (बुधबार) वैशाख ३ गते सकिँदै छ ।

 

बिज्ञापन

यस विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले कोरोना संक्रमण र रोकथामको लागि लागू गरेको लकडाउन थप लम्बिने तयारी गरेको छ ।

 

चौथो पटक लकडाउन कम्तीमा एक हप्तादेखि १० दिनसम्मका लागि थप गर्ने सरकारको तयारी छ । यसअघि गत चैत २४ गतेको मन्त्रिपरिषद बैठकले ८ दिन थप गरेको थियो । सो अवधि भोलि बुधबार सकिँदैछ ।

 

नेपालमा पछिल्लो समय कोरोना संक्रमण केसहरू स्थानीय स्तरमा र विशेषगरी भारतबाट नेपाल पसेकाहरूमा देखिएको छ ।

 

भारतमा कोरोना केसहरू बढिरहँदा नेपालमा जोखिम देखिएको छ । यस जोखिम न्यूनीकरण गर्ने उपायका रूपमा लकडाउन गरिएको र यसको अवधि परिस्थितिअनुसार बढाउँदै जाने सरकारको रणनीति रहेको छ ।

 

यता नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको समेत सरकारले जनाएको थियो ।