भारतमा ३ मेसम्म लकडाउन, २० अप्रिलपछि खुकुलो पार्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी ३ मे सम्म लकडाउन जारी राख्ने घोषणा गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले थप २० दिनसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

 

यसअघि भारतमा गरिएको २१ दिनको लकडाउन आजै समाप्त भएपछि अवधि थप गरिएको हो । यसअघि विभिन्न राज्य सरकारले केन्द्र सरकारलाई लकडाउन थप्न सुझाव दिएका थिए ।

 

प्रधानमन्त्री मोदीले २० अप्रिलपछि भने केही खुकुलो पार्ने बताएका छन् । तर खुकुलो पन पनि शर्तअनुसार हुनेछ । अति जरूरी बाहेक हिँड्न पाइनेछैन ।

 

केही राज्यले आफ्नो राज्यमा लकडाउन थपेका थिए । भारतीय प्रधानमन्त्री मोदीले देशका नाममा गरेको सम्बोधनमा जनताले डटेर कोरोनाको मुकाबिला गरेको भन्दै धन्यवाद समेत दिएका छन् ।

 

अन्य देशको तुलनामा भारतले गहनतापूर्वक काम गरेकाले अहिलेसम्म धेरै क्षति हुन नपाएको पनि बताए । मोदीले करिब एक महिनाको अवधिमा केही देशमा २५ गुणाभन्दा बढी संक्रमण फैलिएको तर भारतले यो अवस्थालाई सम्हालेको बताए ।

 

यसअघि प्रधानमन्त्री मोदीले १९ र २४ मार्चमा पनि राष्ट्रका नाममा सम्बोधन गरेका थिए । उनले २४ मार्चमा कोरोना रोकथामका लागि २१ दिनको लकडाउन घोषणा गरेका थिए ।