
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमामा पठाउन बादलले निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर गृहमन्त्री बादलले अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।जसअनुसार सशस्त्र प्रहरी बलले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालिसकेको स्रोतले बतायो । नेपाल प्रहरीले पनि आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।हाल कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपय विशिष्ट व्यक्तिले मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्यविधि विपरित सुरक्षाकर्मी राखेका छन् । उनीहरुको हकमा मन्त्रिपरिषदबाटै निर्णय गरेर कटौती गरिने बादलले बताएका छन् ।‘आवश्यकता मूल्यांकन गरेर जति सक्दो कटौती गरेर सीमामा पठाउनुस्’, बादलले दुवै सुरक्षा संगठनका प्रमुखलाई भनेका छन् ।
पहाडी क्षेत्रका सुरक्षाकर्मीलाई पनि सीमामा खटाउन निर्देशन
बादलले पहाडी तथा हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई पनि सीमामा खटाउन निर्देशन दिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले बताए ।उनका अनुसार अत्याश्वयक बाहेकका सुरक्षाकर्मीलाई सीमामा परिचालन गर्न भन्दै गृहसचिव महेश्वर न्यौपानेमार्फत बादलले सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
तराईका जिल्लामा थप जनशक्ति पठाउन नेपाल प्रहरीलाई पनि गृहमन्त्री बादलले निर्देशन दिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बादलले सीमा क्षेत्रमा विशेष सतर्कता बढाउन मातहतका सुरक्षा अंगहरूलाई निर्देशन दिएका हुन् ।