उपत्यकामा लकडाउन उल्लंघन गर्ने प्रवृत्ति : फ्रेश हुन भन्दै मानिसहरु सडक

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने प्रवृत्तिमा वृद्धि भइरहेको छ ।

 

बिज्ञापन

काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामध्ये दुई जनामा कोरोना संक्रमित पुष्टि भएसँगै सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ ।

 

तर, बिहान र बेलुकीको समयमा तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेसँगै कोरोनाको त्रास झन फैलिएको छ ।

 

उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् भने जरुरी कामबिना सडकमा निस्कने र लकडाउन उल्लंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाएको छ ।

 

यसैगरी राजधानी प्रवेश गर्ने सबै सम्भावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ ।

 

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले सुरक्षाकर्मीको सदासयताको दुरुपयोग गर्दै लकडाउन उल्लंघन गर्ने प्रवृत्ति बढेकोले त्यसलाई निरुत्साहन गर्न सुरक्षा जाँच र गस्तीलाई थप कडा गरेको बताए ।

 

आज (बुधबार) बिहान मात्र लकडाउन उल्लंघन गर्ने २ हजार ३८ जनालाई कारवाही स्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ ।

 

डीआईजी पोखरेलका अनुसार बुधबार बिहान दुई घण्टामै लकडाउन उल्लंघन गर्ने दुई हजारलाई नियन्त्रणमा लिएर होल्ड गरिएको हो ।

 

उपत्यकाका मुख्य चोक कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर, कालिमाटी, कलंकी, गौशाला, चाबहिल लगायतका स्थानबाट लकडाउन उल्लंघन गर्नेलाई कारबाही गरिएको हो ।