तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने

तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् ।

 

चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने भएकाले स्थानीयवासीले आफूहरू त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरे पनि अहिले समझदारीमा आएका छन् ।

 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ ।

 

सो सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध जनाउने छैनन् ।

 

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडलबीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने समझदारी भएको हो ।

 

सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारीबीच तातोपानीको मितेरी पुलमा मङ्गलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामग्री भित्र्याउने निर्णय गरेको थियो । रासस