
बाँके : तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगन्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।




६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारबाही गरेको हो ।

लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
उनका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरिद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिई बिक्री गर्न र औषधि व्यवस्था विभागले सिफारिस गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ । समितिले बुधबारै नेपालगन्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो ।
संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगन्जको हिल्स मेडी सप्लायर्सलाई दुई लाख रुपैयाँ र कमला मेडिसिनलाई ५० हजार रुपैयाँ जरिवाना गरिसकेको छ । रासस