
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २ जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । २ पटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् ।
उनीसँगै रहेकी आमाको दोस्रो पीसीआर परीक्षण भने पोजिटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार लगातार २ पटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई आज दिउँसो औपचारिकरूपमा डिस्चार्ज र बिदाई गरिने कार्यक्रम छ ।
आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाइनमा बस्ने वा घरको क्वारेन्टाइनमा बस्ने टुङ्गो नलागेको तिवारीले जानकारी दिए । कम्तीमा उनी १ साता क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ छ ।
तिवारीका अनुसार राप्ती नगरपालिका–८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना देखिएको थियो । सुरुमा आमामा र्यापिड डायग्नोष्टिक टेष्टमा शङ्कास्पद देखिएपछि आमा र २ छोराको पीसीआर परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा आमा र १ छोराको पोजिटिभ देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा निगरानीमा राखिएको छ । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजिटिभ आएको थियो ।
परीक्षणअघि आमा र २ छोरा अस्पतालमा रहेको भए पनि १ छोरालाई नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको थियो । हाल अस्पतालमा रहेका आमाछोरामा रोगको लक्षण नदेखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार ३ दिनपछि पुनः आमाको स्वाब परीक्षण गरिने छ । शरीरबाट भाइरसमुक्त भए पनि केही समयसम्म एन्टीबडी रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तीमा १ साता क्वारेन्टाइनमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।
३ चैत बेलायतबाट यी आमाछोरा हङकङ हुँदै नेपाल आएका थिए । २ दिन काठमाडौं बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिलाई हाल राप्तीको ब्रह्मनगरको क्वारेन्टाइनमा राखिएको छ । आरडीटीमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।
जिल्लामा कोरोना रोगको उपचारका लागि भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाले स्थापना गरी भरतपुर अस्पतालले नै सञ्चालन गरेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई तोकिएको छ । अधिकारीका अनुसार भरतपुर अस्पतालमा रहेका सङ्क्रमितलाई उच्च सावधानीका साथ राखिएकाले अन्य सेवा सञ्चालन भएको छ । रासस