तीन पटक र्‍यापिड टेस्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज : वीरगञ्जमा लगातार ३ पटक गरिएको र्‍यापिड (आरडिटी) टेस्टको रिपोर्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो ।

 

ब्लड क्यान्सरले ग्रसीत ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।

 

नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायका अनुसार युवतीको शव अहिले नारायणी अस्पतालमै छ ।

 

उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको उपाध्यायले बताए ।

 

‘३ पटक लगातार आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आएपछि केश शंकास्पद देखियो, यकीन गर्न स्वाब हेटौँडा पठाएका छौ’ मेसु उपाध्यायले भने ।

 

एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएको थियो ।

 

स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेका थिए । तर, मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फकाइयो । त्यसपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो ।

 

एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए । शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजेटिभ आएको थियो ।

 

लगातार तराई हस्प्टिलमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ आएपछि युवतीलाई तराई हस्पिटलबाट नारायणी अस्पताल लैजाने क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको हो ।