
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल जारी सिजनको लिग च्याम्पियन बनिसकेको बायर्न म्युनिख फ्रेइवर्गसँग बराबरीमा रोकिएको छ ।

बायर्नले घरेलु टोलीविरुद्ध खेलमा दुई पटक अग्रता लिएरपनि जोगाउन नसक्दा २–२ गोलको बराबरीमा रोकिएको हो ।



शनिबार राति फ्रेइवर्गमा सम्पन्न भएको खेलमा बायर्नका रोबर्ट लेवान्डोस्की र लिरोए सानेले गोल गर्दा घरेलु टोलीका म्यानुइल गुल्डे र क्रिस्टियन गन्टरले बराबरी गोल फर्काए ।

फ्रेइवर्गविरुद्ध एक गोल गरेपछि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ४९ वर्षअघि गर्ड मुलरले एक सिजनमा गरेको सर्वाधिक गोलको कीर्तिमानलाई बराबरी गरेको छ । लेवान्डोस्कीले जारी सिजन बुन्डेसलिगाको २८ खेलमा ४० गोल गर्दै गर्ड मुलरको कीर्तिमानलाई बराबरी गरेका हुन् ।
मुलरले सन् १९७२ मा उक्त कीर्तिमान राख्ने क्रममा ७७ मिनेटमा औसतमा गोल गरेका थिए। भने लेवान्डोस्कीले ५८ मिनेटका औसतमा १ गोल गरेका छन् ।
उक्त बराबरी सँगै ३३ खेलबाट ७५ अंक बनाएको बायर्न यसअघि नै च्याम्पियन बनिसकेको छ । भने फ्रेइवर्ग समान ३३ खेलबाट ४५ अंकसहित १०औं स्थानमा रहेको छ ।