कोरोनाबाट विदेशमा ४८ नेपालीको मृत्यु, कहाँ कतिको मृत्यु ?

विश्वव्यापी महामारी कोराना (कोभिड–१९) भाइरस संक्रमणका कारण विदेशमा हालसम्म ४८ जना नेपालीहरूको ज्यान गइसकेको छ ।

 

कोरोना भाइरसको संक्रमणबाट दुई हजार २३८ जना नेपाली संक्रमित भएका छन् । यो तथ्याङ्क २२ देशको शनिबारसम्मको हो । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् । बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसमध्ये २३ जना भुपू गोर्खा सैनिकहरु रहेका छन् ।

 

अमेरिकामा १०, युएईमा दुई तथा आयरल्याण्ड, जापान र टर्कीमा एक–एक जनाको मृत्यु भएको छ । अमेरिका र बेलायतमा रहेका एक–एक हजार नेपालीमा संक्रमण देखिएको छ ।

 

युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्याण्डमा २२–२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्याण्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४–४ जना कोरोना भाइरसका संक्रमित रहेका छन् ।

 

मलेसिया र क्यानाडामा ३–३, माल्टा, जापान र हङकङमा २–२, टर्की, म्यानमार र फ्रान्समा १–१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ ।

 

एनआरएनएले शुरु गरेको हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।