विद्यालय तहको पठनपाठन जेठको दोस्रो साताबाट

वैशाख विद्यार्थी भर्ना अभियानको चटारो हुने महिना हो । तर कोरोना भाइरसका कारण अहिले विद्यालाय बन्द छ । जसका कारण विद्यार्थी भर्ना अभियान सुरु हुन पाएको छैन ।

 

कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा सार्वजनिक भएको छैन भने कक्षा १०, ११ र १२ को परीक्षा हुन सकेको छैन । जसका कारण नयाँ शैक्षिकसत्र प्रभावित भएको छ ।

 

२५ वैशाखसम्म लकडाउन भएकाले यो महिनामा शैक्षिकसत्र सुरु नहुने पक्का भएको छ । अब यो वर्ष कसरी शैक्षिक क्यालेन्डर चलाउने भन्ने समस्या भएको छ ।

 

वैशाखसम्म लकडाउन भएपनि शैक्षिकसत्र प्रभावित नहुने सरकारी अधिकारी बताउँछन् ।‘लकडाउनले अहिलेसम्म ठूलो क्षति भएको छैन,’ शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक तुलसी थपलियाले भने, ‘नयाँ शैक्षिकसत्र पनि प्रभावित हुँदैन ।’

 

कक्षा १ देखि ९ सम्म्को नतिजाको तयारी भइरहेकाले जेठको दोस्रो तेस्रो साताबाट कक्षा सञ्चालन गर्दा पनि शैक्षिकसत्र प्रभावित नहुने उनले बताए ।

 

‘वैशाखसम्म भर्ना अभियान नै हो,’ उनले भने, ‘हामी यही अवधिमा छौँ । तर, त्यतिमै बस्ने कुरा पनि हुँदैन । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएको छ । अब नतिजा निकाल्ने काम सुरू हुन्छ ।’

 

लकडाउन खुल्नेबित्तिकै भीडभाड नगरी भर्ना सुरु गर्ने उनले बताए । ‘जेठको दोस्रो तेस्रो साताबाट कक्षा सञ्चालन गर्दा पनि शैक्षिकसत्र प्रभावित हुँदैन,’ महानिर्देशक थपलियाले भने, ‘वर्षे र हिउँदे बिदा कटाएर यो वर्षको शैक्षिकसत्र चलाउनुपर्ने अवस्था आएको छ ।’