
जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो ।




चामल सडेको कारण अमिलो गन्ध आएको राहत पाउने स्थानीय रामा ठाकुरले बताए । लकडाउनको १ महिनापश्चत गरिब तथा विपन्नलाई बाँडिएको राहतमा कुहिएको चामल दिएपछि स्थानी आक्रोशित भएका छन् ।

‘लकडाउनको एक महिना पश्चात राहत दियो । खुशी भएर राहतको पोका लिएर घर गएँ । बोरा खोल्दा त ढुसी परेको चामल । मन खिन्न भयो’ स्थानीय बानबिर पण्डित आक्रोशित हुँदे भने ‘राहत दिने मन थिएन् भने नदिँदा नि हुन्थ्यो । तर यो सडेको चामल दिएर जनकपुरधाम उपमहानगरपालिकाले हाम्रो गरिबीसँग मजाक उडाएको छ ।’
राहतमा पाएको चामल कुहिएको पाइएपछि दर्जनौँ स्थानीयले वडा कार्यालयमा राहत फिर्ता गरेका छन् । नेपाल चेम्बर अफ कर्मस जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले केही कमिसन र लोभमा पीडितलाई कुहिएको चामल दिएर आहत दिने कार्य भएको आरोप लगाएका छन् ।
गत चैत २२ गते उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो । बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, एक लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरे पनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निर्णय गराएका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।
राहतका लागि जनकपुरधाम उपमहानगरपालिकाले एउटा कोष खडा गरी विभिन्न व्यक्तिसँग चन्दा लिइरहेका छन् । जनकपुर उपमहानगरपालिकालाई राहतको लागि सहयोग गर्दै आएका संघ संस्था, शिक्षक, बैंकर्सलगायतलाई गम्भीरतापूर्वक विचार गर्नु तस्बिर हेरेर चेम्बर अफ कर्मस जनकपुरधामका वरिष्ठ उपाध्यक्ष मिश्रले दातालाई भनेका छन् ।
यता, कसले लापरवाही गरेको भन्ने सम्बन्धमा उपनगरपालिकाका कुनै अधिकारीले केही बताउन चाहिरहेको छैन । कहाँ गल्ती भएको खोजी रहेको एक अधिकारीले बताए ।
शिलापत्र