
जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद डा.सुरेन्द्र यादवको अपहरण गरिएको भनिएको घटनामा सरकारी वकिल कार्यालय काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोधस्वरुप महोत्तरीमा प्रदर्शन गरिएको छ ।
जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले मंगलबार साँझ महोत्तरीको सम्सी बजारमा सरकारविरुद्ध मशाल जुलुस सहित प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा सरकारी वकिलको कार्यालय र काठमाण्डौं प्रहरीले डा. यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता नगरेको जसपा नेता तथा कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
लकडाउनका बेला हातमा मशाल लिएर बजार परिक्रमा गरेका जसपाका नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीलगायत प्रहरी प्रशासनविरुद्ध नारावाजी समेत गरेका थिए ।
उनीहरुले समाजवादी पार्टी फुटाउन नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्व आइजिपी सर्वेन्द्र खनाल मिलेर डा।यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाण्डौं लगेको आरोप लगाएका छन् ।
अपहरण गरेको भनिएको घटनामा प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि कानूनविद्को सल्लाहमा आज जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए। तर, त्यहाँ मुद्दा दर्ता नगरिएपछि उनीहरू सडक संघर्षमा उत्रेका हुन् ।
विरोध प्रदर्शनमा सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव,वडा नम्बर–१ का अध्यक्ष अशोक कुमार यादव लगायत जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रहरीले जाहेरी लिन अस्विकार गर्दै लिखित कागजात ल्याउनुपर्ने भन्दै जाहेरी दर्ता नभएपछि जसपाका नेताहरु लोकतन्त्रको धज्जी उडाइएको भन्दै अब जनताको अदालतवाट फैसला हुने चेतावन दिएका छन् ।
मंगलबार जसपाका नेताहरु काठमाण्डौको बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा जाहेरी दिन गएपछि उनीहरुको जाहेरी दर्ता नभई उल्टै प्रधानमन्त्री ओली निकटका युवाहरु सोहि समयमा त्यहाँ पुगेर हो-हल्ला र नारावाजी गरेका थिए ।