
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।




गैरआवासीय नेपाली संघ दक्षिण कोरिया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्री स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराएका छन् । एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीले यसअघि पनि टेस्टिङ किट, पीपीईलगायतका सामग्री उपलब्ध गराएको थियो ।
बिहीबार फेरि ३१० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन-९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीई गाउन २ हजार थान उपलब्ध गराएको शर्माले बताए ।
यस्तै, एनआरएनए चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ । यस्तै, एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने शर्माले बताए ।
एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सजिलो बेलाभन्दा अप्ठेरो अवस्थामा साथ दिनेहरू नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिए । उनले उपलब्ध भएका स्वास्थ्य सामग्री पारदर्शी रुपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिनेसमेत बताए ।
एनआरएनए दक्षिण कोरियाले १ व्यक्ति १ टेस्ट अभियानका साथ कोरियामा रहेका नेपाली नागरिकबाट रकम उठाई परीक्षण किट सहयोग गरेको छ । यस्तै, आगामी दिनमा पनि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने एनआरएनएले बताएकाे छ ।