
काठमाडाैं : जिल्ला अस्पताल अछामको आइसोलेसनमा रहेकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।
मंगलसेल नगरपालिका–५ की ५१ वर्षीया महिलाको मृत्यु भएको उपचारमा संलग्न डा. शरद बरालले बताए ।
बरालका अनुसार उनलाई वैशाख १५ गते कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने र खोकी लाग्ने देखिएपछि उनलाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।
‘अस्पताल आउँदा ज्वरो थियो, उनको पृष्ठभूमि हेर्दा बाहिरबाट आएको मान्छेसंँग सम्पर्क भएको पाइयो,’ डा. बरालले भने, ‘ती महिलाको आरडीटी परीक्षण नेगेटिभ आएको छ ।’
उनको पीसीआर परीक्षणका लागि थ्रोट स्वाव संकलन गरेर सुर्खेत पठाएको उनले बताए । ‘स्वाब परीक्षणको रिपोर्ट शुक्रबार मात्रै आउने छ,’ उनले भने ।
महिलाको मृत्युपछि अस्पतालका डाक्टरसमेत १३ जना स्वास्थ्यकर्मी बिहीबारदेखि क्वारेन्टाइनमा बसेपछि अस्पतालको सेवा प्रभावित हुन पुगेको छ । कान्तिपुर दैनिकमा खबर छ ।