उदयपुर ठेगाना भनेपछि अप्रेशन थिएटरबाट बिरामी निकाल्ने नोबेलविरुद्ध उजुरी

उदयपुर घर भएकै कारण अप्रेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कारवाहीे माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् ।

 

बिज्ञापन

प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गर्ने नोबेलमाथि कारवाही गर्न उनका श्रीमानले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

 

प्रसुति व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी सरस्वतीको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि नोबेलका चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर कोशी अस्पताल रेफर गरेका थिए ।

 

रेफरको कागजमा उदयपुर घर भएको कारण रेफर गरिएको लेखिएको छ । उदयपुर घर भएकै कारण विरामीलाई उपचारबाट बञ्चित गर्ने अस्पतालमाथि कारवाहीको माग गर्दै विरामीका श्रीमान् प्रकाश गुप्ताले उजुरी दिएका हुन् ।

 

जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिन गएकोमा शुक्रबार कार्यालय बन्द भइसकेकाले उजुरी दिन नपाएको बताउँदै उनले आइतबार प्रशासनमा पनि उजुरी दिने बताएका छन् ।

 

विरामीले सहजरुपमा उपचार पाउने न्युनतम मानवअधिकार नोबेलले उल्लंघन गरी ज्यान जोखिममा पार्ने प्रयास गरेको भन्दै पीडित परिवारले उजुरी दिएको हो ।

 

नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा शल्यक्रियाबाट छोरा जन्मिएको छ । आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ ।

 

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको बताएका छन् । कोशीका चिकित्सक र उनका श्रीमानले पनि ज्वरो नआएको बताएका छन् ।

 

उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएको भए पनि जिल्लाभरका विरामी लिन निजी अस्पतालले अस्वीकार गर्दै आएका छन् ।

 

केही दिनअघि पनि विराटनगरको विराट नर्सिङ होमले उदयपुर घर भएका बिरामीलाई भर्ना नगरी गेटबाटै फर्काएको थियो ।