
काठमाडौं : उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजालासका एकजना नायव सुब्बा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बाँकेको जानकी गाउँपालिका–१ घर भई उच्च अदालत तुलसीपुर, दाङमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार पक्राउ गरेको हो ।
अदालतमा चलिरहेको विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पाठकलाई नेपालगन्जस्थित चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयको टोली पाठकलाई पक्राउ गर्न नेपालगन्ज पुगेको थियो । घुससहित पक्राउ परेका पाठकलाई हिरासतमा राखेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।