
मोरङ – प्रदेश १, आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोजेको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।




डिभिजन प्रमुख झाले आर्थिक मामिला मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रुपैयाँ बुझाउन खोजेको अभियोग लगाइएको छ । झाले उक्त रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र त्यसबारे सोध्दा उनले केही नभनेको पौडेलले बताउनुभएको छ ।

झाले आफूले पौडेललाई रु १० हजार खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको जनाएका छन् । घटनापछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिनुभएको थियो ।
घटनाको सामान्य जानकारीपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा सङ्लग्नलाई आयोगमा बुझाउन निर्देशन दिनुभएको थियो । लगत्तै आयोगको इटहरीस्थित कार्यालयले झालाई पक्राउ गरेको हो ।