प्रदेश एकको बजेट अधिवेशन भोलिदेखि

झापा । प्रदेश १ को बजेट अधिवेशन जेठ १४ गते (बुधबार) बाट सुरु हुने भएको छ ।

 

बैठकका लागि प्रदेश सभाहल भित्र व्यक्तिगत दुरी कायम गरी सांसदका लागि कुर्सी राखिएको छ ।

 

प्रदेश नं १ सरकारको मन्त्रिपरिषदको बैठकले बुधबार दिउँसो २ बजेदेखि बैठक बोलाउने निर्णय गरेको छ ।कोरोना संक्रमणको त्रास फैलिएपछि प्रदेशको हिउँदे अधिवेशन ६ चैत २०७६ देखि स्थगित भएको थियो ।

 

एक नम्बर प्रदेश सभामा सत्तारुढ दल नेकपा ६७, मुख्य प्रतिपक्षी काङ्ग्रेसका २१ सदस्य छन् ।

 

प्रतिपक्षी समाजवादी पार्टीका ३, राप्रपा र लोकतान्त्रिक मञ्चबाट १–१ जना सदस्य छन् ।

 

पुरानो हलमा ६० जना, बाँकीले मनिटरबाट हेर्ने

 

प्रदेशसभा सचिवालयले बैठक सञ्चालनका लागि दुईवटा हललाई प्रयोगमा ल्याउन लागेको छ ।

 

एउटा हलमा ६० जना मात्र अटाउने भएका कारण बाँकी सांसदलाई राख्न संसद सचिवालयकै अर्काे बैठक कक्ष प्रयोग गरिने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।उनका अनुसार दुबै बैठक कक्षमा मनिटरबाट स्क्रिन सेयरिङ गरिनेछ ।

 

‘सांसदका लागि बैठक कक्षको स्क्रिन सेयरङिको व्यवस्था मिलाएका छौं’ उनले भने ‘सामाजिक दुरी कायम गर्न प्रविधिको प्रयोग गरिएको छ ।’

 

सांसदको पुरानो हलमा बस्ने सदस्यहरुले रोष्टम प्रयोग गरेर बोल्न पाउनेछन् । नयाँ हलमा बस्नेले भने माइकको सहायताले बोल्नुपर्ने छ ।प्रदेश नं १ सभाका संसदिय दल र कार्यव्यवस्था समितिको सहमतिपछि सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न लागिएको हो ।

 

बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको पराजुलीले बताए ।

 

बजेट अधिवेशन अवधिभर प्रदेश सभामा हातधुनुपर्ने, सेनिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

 

बैठक सञ्चालनका लागि कोरोना जाँच

 

प्रदेश सभा सञ्चालनका लागि सांसदहरुको कोरोना जाँच गरिएको छ । मुख्यमन्त्री शेरधन राईसहित जाँच गर्ने सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

 

प्रदेश सभा सचिवालयका अनुसार कोरोना संक्रमणको जोखिम भएका कारण बैठकमा अतिथिलाई प्रवेश नदिने भएको छ ।

 

सधै बैठक कक्ष भित्र बस्ने पत्रकारलाई पनि छुट्टै राखिने भएको छ ।हल साँघुरो भएका कारण पत्रकारलाई बाहिर बनाइएको मिडिया सेन्टरको ब्यावस्था गरिएको छ ।बजेट अधिवेशन अवधिभर अतिथिलाई प्रवेश दिइने छैन् ।

 

सातौं अधिवेशन नयाँ भवनमा

 

कोरोना महामारी त्रासका कारण छैटौँ अधिवेशन गर्दा दुईवटा हल प्रयोग गर्नु परेपछि प्रदेशसभाको सातौं अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

 

प्रदेशसभाका सचिव पराजुलीका अनुसार सातौं अधिवेशनका लागि छुट्टै प्रीफ्याक्ट भवन बनाइनेछ ।

 

प्रिफ्याक्ट भवनका लागि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले तयारी सुरु गरेको पराजुलीले बताए ।