
बझाङ — चितुवाको छाला र हड्डी बिक्री गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुंगल नगरपालिका–११ का प्रेमबहादुर बोहरा र रमेश पातली छन् ।

मंगलबार राति एक बजेतिर सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र बझाङको बित्थडचिर प्रहरी चौकीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो



गोप्य सूचनाका आधारमा बोहराको घरमा जाँच गर्दा नाकदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाइ र ५ फिट २ इन्च चौडाइको चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बोहराको घरमै बोरामा लुकाइराखिएका चितुवाका २२ वटा हड्डीसमेत बरामद भएको डीएसपी गणेश बमले बताए ।

पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ । तर, डिभिजनसँग हिरासत नभएकाले उनीहरूलाई प्रहरीकै हिरासतमा राखेर अनुसन्धान गरिनेछ ।
बझाङको उरै भन्ज्याङ नाकाबाट वन्यजन्तुका आखेटोपहार, रक्तचन्दनलगायत बहुमूल्य जडीबुटी चीनको ताक्लाकोट बजारमा तस्करी हुने गरेको छ ।