
रौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इशनाथ नगरपालिकामा हिजो कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई अन्यत्र आइसोलेसनमा लाग्न खोज्दा झडप भएको हो ।




इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका २ व्यक्तिमा हिजो संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रकै अर्को स्थानमा रहेको आइसोलेसनमा लाग्न चिकित्सक र सुरक्षाकर्मी पुग्दा तनावको स्थिति सिर्जना भएको हो ।
संक्रमितहरूलाई अन्यत्र नलगी सोही नगरपालिकाभित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् । झडप नियन्त्रणमा लिन प्रहरीले झण्डै १२ राउण्ड हवाई फायर गरेको छ । झडपमा स्थानीय सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधानसमेत तोडफोड भएको छ ।
झडपलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी घटनास्थलतर्फ परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।
रौतहटमा हिजोपनि गोली चलेको थियो । कटहरिया नगरपालिकामा क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयसँग विवाद हुँदा प्रहरीले गोली चलाएको हो ।
रौतहट प्रहरीका अनुसार प्रहरीले झडप नियन्त्रणमा लिन १२ राउन्ड हवाई फायर गरेको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टाइन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलाउनुपरेको बताएको छ । लगातार विभिन्न स्थानमा विवाद भइरहेको छ ।