असार ७ गतेसम्म कर बुझाउन नसकिने भन्दै विराटनगरका व्यवसायी उत्रिए विरोधमा

विराटनगर । आन्तरिक राजस्व विभागले असार ७ गते सम्म कर बुझाउन आग्रह गरेपछि अहिले कर बुझाउन नसक्ने भन्दै विराटनगरका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।

लगातारको लकडाउनका कारण व्यापार व्यवसाय नभएको र विभागले म्याद थप गरेपनि तत्काल कर तिर्न सक्ने स्थिति नरहेको भन्दै उनीहरुले विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि धर्ना दिएका छन् । धर्ना अघि उनीहरुले विभिन्न नाराहरु लेखिएका प्ले कार्ड बोकेर नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।

‘कोरोना लागेर मर्नु अघि भोको मरिन्छ होला, भोको पेटले बैक व्याज कसरी तिर्ने, घर भाडा र बैंक ब्याज मिनाहा गर, व्यापार नगरी कर कसरी तिर्नु, व्यापार र व्यापारीलाई संरक्षण गर’ जस्ता नारा लेखिएका प्ले कार्ड सहित उनीहरुले मौन जुलुस निकालेका थिए । धर्ना कार्यक्रममा भोको भएका कारण मरेको जस्तो गरेर सुतेर सांकेतिक विरोध समेत गरेका थिए ।

उनीहरुले स्थानीय सरकारले एक पटक राहत दिएको तर निम्न बर्गीय परिवारलाई बाँच्न गाह्रो भएको भन्दै र आवश्यक राहत उपलब्ध गराउनु पर्ने माग सहित विरोध गरेका छन् । उनीहरुले सरकारले कुनै व्यवसाय सञ्चालन गर्न अनुमति दिने र कुनै व्यवसायलाई सञ्चालनमा रोक लगाएर विभेद गरेको हुनाले लकडाउनको पालना गरेर सवैले आप्mनो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राखेका छन् ।