राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्रविरोधी हुन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले पछिल्लो समय ससाना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यसकिसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताएका हुन् ।

“राष्ट्रपतिको विरुद्ध लगातार,अनवरत, हरेक स–साना निहुँमा आक्रमणको तारो बनाइन्छ । मैले त्यसलाई गणतन्त्र विरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु । के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुपलागेर बस्ने राष्ट्रपति चुप लागेर बस्या छ । त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुपथ्र्यो ?”

उनले राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिए । राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उनले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गरे ।

उनले भने, “गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन् । कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जेमा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन । दुवो काटेर चौरी चिटिक्क पारियो । अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्ने ? अनि राष्ट्रपतिले कोरोनाका विरुद्ध नलड चौरी चिटिक्क पार् भन्या हो र ? ”