संविधान संशोधन विधेयक पारित हुने भएपछि देशभर जारी आन्दोलन आजका लागि स्थगित

काठमाडौं : संघीय संसदबाट राष्ट्रियताका पक्षमा ऐतिहासिक काम हुन लागेको भन्दै देशभर जारी आन्दोलन आजका लागि स्थगित गरिएको छ ।

शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिबिम्बित गर्नेगरी संविधान संशोधन सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने भएपछि आन्दोलनरत युवाहरुको समूहले आजका लागि आन्दोलन स्थगित गरेका हुन् ।

पछिल्लो समय सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधान गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासकिन नक्सालाई संवैधानिक मान्यता दिने गरि सरकारले संविधान संशोधन विधेयक ल्याएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ । छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यता उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले संविधान संशोधनको ऐतिहासिक घडीमा सिंगो राष्ट्रलाई एकजुट हुन आह्वान गरेका छ ।

मन्त्री पोखरेलले शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको यस विशेष दिनलाई स्वागत गर्न र सिंगो राष्ट्र यस विषयमा एक रहेको यथार्थलाई पुनः पुष्टि गर्न आग्रह गरेका छन् ।