
काठमाडौं : सरकारले नेपालीको उद्धार गर्दा तोकेको चार्टर्ड उडानको भाडादर घटाएको छ ।




खाडी मुलुक र मलेसियामा समस्यामा परेका नेपालीको उद्धार गर्दा तोकेको चार्टर्ड उडानको भाडादर महंगो भएपछि सरकारले चौतर्फि आलोचना हुँदै आएको थियो ।

सरकारले ३२ जेठदेखि ११ असारसम्म विदेशबाट कामदार उद्धार गर्ने निर्णय बुधबार गरेको थियो । तत्काल उद्धार गर्नुपर्ने कामदारलाई नेपाल ल्याउने प्रयोजनका लागि नेपाल एयरलायन्स र हिमालय एयरलायन्सका लागि भाडासमेत तोकेको थियो । तर, त्यो भाडादर अत्यधिक भएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार भाडा केही घटाएको छ । तर, त्यो पनि सामान्य अवस्थामा भन्दा तीनगुणासम्म महंगो छ ।
रोजगारी र आम्दानी गुमाएका तथा बिरामी अवस्थामा रहेका नागरिकहरूले यती समूहको लगानी भएको हिमालय एयरलायन्सलाई मात्रै होइन, सरकारको आफ्नै स्वामित्वको नेपाल वायुसेवा निगमलाई समेत अचाक्ली भाडा तिर्नुपर्ने भएको हो । शुक्रबार पर्यटन मन्त्रालयले खाडी मुलुकहरूका लागि बुधबार तोकिएकोभन्दा ५० देखि ७० डलरसम्म भाडा घटाएको छ ।
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै आलोचना भएपछि ओमानस्थित नेपाली दूताबासले हिजो सस्तो भाडामा नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको थियो ।
