दार्चुलाको छाङ्गरू पुगे प्रधानसेनापति र सशस्त्रका महानिरीक्षक

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङ्गरू पुगेका छन्।

बुधबार बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविण कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरीले बनाएको बोर्डर आउट पोष्ट (बिओपी) र सेनाको अस्थायी बेस निरीक्षण गर्न पुगेका हुन्।

दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो।

साथै, दुबै प्रमुखले सेनाले बनाउँदै गरेको दार्चुलादेखि तिंकरको बाटोको निरीक्षण समेत गरेको दार्चुलाका सहायक सिडिओ टेकसिंह कुँवर जानकारी दिए।