अढाई महिनापछि खुल्यो जानकी मन्दिरको मुलढोका

नकपुरधाम । गत चैत १५ देखि बन्द रहेको हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरको पट (मुलढोका) ८१ दिनपछि खुलेको छ । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि भक्तजनहरुको भीडभाडलाई लिएर बन्द भएको जानकी मन्दिरको पट आंशिक रुपमा लकडाउन खुल्ला गर्ने सरकारको निर्णयपछि खुलेको हो । जानकी मन्दिरको मुलढोका खुलेपछि जानकीको दर्शनका लागि श्रद्धालु भक्तजनहरुको भीड बढेको छ ।

लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवम् आरती जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द थियो । श्रद्धालु भक्तजनहरुको आस्थाको केन्द्र रहेको जानकी माताको दर्शनको लागि लामो समयसम्म रोकटोक गर्न नमिल्ने हुनाले व्यवस्थित रुपमा भीडभाड नहुने गरी दर्शनका लागि मन्दिरको पट खोलिएको महन्त रामरोशन दासले जानकारी दिए ।

उनले सामाजिक दूरीको पालना गराउनेतर्फ पहल गरिदिन र दैनिक सेनिटाइज गर्ने व्यवस्था मिलाइदिन जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।